विभागले आफ्नै प्राविधिक कमिटीको रिपोर्ट विपरित रुट पर्मिट दिएपछि सडक जिर्ण

जगदीश्वर पाण्डे, काठमाडौं
फाल्गुन ९, २०७३- १९ वर्षको काम, करिब २५ अर्ब रुपैयाँ लागत र १ सय ५८ किलोमिटर लम्बाई रहेको बीपी राजमार्ग २०७१ सालको अन्त्य बाट मात्र पूर्ण रूपमा सञ्चालनमा आएको थियो । जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा निर्माण भएको उक्त राजमार्गको सिन्धुली सितलपाटी–९ मा आइतबार राती ११ बजे सडक भासिएको छ । यो खुर्कोट र सितलपाटीबीचमा करिब ३० मिटर सडक भासिएको हो । 

ठूलो लागत, लामो समय र जापानी अत्याधुनिक प्रविधिबाट बनाइएको वातावरण मैत्री सडक आखिर कसरी भासियो त ? प्रश्न जताततै उब्जिएको छ । मुलुकको राजधानी काठमाडौंबाट पूर्वी शहरलाई जोड्ने छोटो बाटो अहिले अवरुद्ध भएपछि यसबारेमा चासो उब्जनु स्वभाविक पनि हो । 

जाइकाले २०७१ सालको अन्त्यमा निर्माण सम्पन्न गरि नेपाल सरकारलाई सडक हस्तान्तरण गरेपछि उक्त एक लेनको बाटो (ठाँउ–ठाँउका मोडमा डबल लेन छन्) । जाइकाले लामो समय लगाएर नेपाल सरकारलाई हस्तान्तरण गरेपछि एक लेन (३.५ मिटर) को चौडाई मात्र भएको र वातावरणलाई असर नगर्ने गरि अधिकांश स्थानमा अग्ला पर्खाल लगाएर देख्नलाई मात्र आकर्षक सडक निर्माण गरेपछि नेपालका सडक इन्जिनियरहरूले गुनासो समेत गरेका थिए । उनीहरूको निचोड थियो, न यो बाटो बलियो हुन्छ, न त यसलाई अब बढाएर दुई लेन (७ मिटर) मा विस्तार गर्न सकिन्छ । 

उक्त राजमार्ग साना गाडी र दुई पांग्रे चलाउने र मोबाइलमा सेल्फी खिच्नमात्र बढी प्रयोग हुन्छ भन्ने सडक इन्जिनियरहरूले बताएका थिए । तर जाइकाको अनुदान सहयोग भएका कारण कसैले मुख खोलेनन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था विभागले उक्त राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण भएपछि विभागका तत्कालीन प्राविधिक निर्देशक शरद अधिकारीको नेतृत्वमा एउटा प्राविधिक टोली बनाएको थियो । उक्त टोलीमा सडक विभाग र ट्राफिक प्रहरीको पनि सहभागिता थियो । 

टोलीले स्थलगत भ्रमण गरि तत्कालीन विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीलाई रिपोर्ट बुझाएको थियो । कान्तिपुरलाई प्राप्त उक्त रिपोर्टको निष्कर्ष थियो, बाटो कमजोर र सानो छ, त्यसैले दिउँसोमात्र बस चलाउन दिने, घुम्ती बढी भएकाले ४० भन्दा बढी स्पिडमा हाँक्न नपाउने, ठूला र ठूलो भारी बोक्ने सामानका गाडीहरू गुड्न दिन नहुने थियो । 

अर्थात् साना गाडीमात्र त्यसमाथि पनि दिउँसो मात्रै गुडाउनु पर्ने प्राविधिक कमिटीको रिपोर्ट थियो । त्यहि रिपोर्ट अनुसार तत्कालीन महानिर्देशक बुर्लाकोटीले काम गरे ।  तर २०७२ को भदौमा बुर्लाकाटीलाई तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिले हटाएर नयाँ महानिर्देशकको रुपमा चन्द्रमान श्रेष्ठलाई ल्याए । यातायात व्यवसायीसँग गठबन्धन गर्दै श्रेष्ठले विभागमा आउने बित्तिकै प्राविधिक कमिटीको रिपोर्टलाई थन्काए र त्यहाँ प्राविधिक रिपोर्ट विपरित बढी भार क्षमता भएका गाडीहरूलाई रूट परमिट दिए । 

‘लोड भएका ठूलो गाडी चल्नु र बाटोमा लगाएका अग्ला पर्खालका कारण भासिएको प्रारम्भिक रुपमा देखिन्छ,’ पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालका पूर्वसचिव तुलसी सिटौलाले भने,‘तल नदी भएका कारण पनि केहि प्रभाव परेको हुन सक्छ । स्थगत अध्ययनपछि मात्र थप कुरा भन्न सकिन्छ ।’ 

महानिर्देशक श्रेष्ठले आफ्नै विभागले नेतृत्व गरेको प्राविधिक कमिटीको रिपोर्टभन्दा व्यवसायीको पछि लागेर जथाभावी बीपी राजमार्गमा ठूला गाडी चलाउन दिएपछि दुर्घटनामा बढिरहकै थिए, साथमा सडक समेत भासिन पुगेको छ । 

२०१६ मा पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री बनेका समाजवादी नेता बीपी कोइरालाले यो बाटो शिलान्यास गरेका थिए ।  २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्र अपहरित भयो, बीपी जेल गए । सडक पनि त्यतिकै रह्यो । बरु राजा महेन्द्रले आफ्नै नाममा पूर्वपश्चिम राजमार्ग निर्माण गरे । २०३९ मा बीपीको निधन भयो । त्यसको ३२ वर्षपछि बल्ल उनले चाहेको बाटो उनकै नाममा बनेको छ । जाइकाको सहयोगमा सन् १९९६ मा सुरु भई दुई वर्ष अिघ निर्माण सम्पन्न भएको हो ।


Source : eKantipur

प्रकाशित: फाल्गुन ९, २०७३
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: