बल प्रयोग नगर्न सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्रीको निर्देशन


फाल्गुन २४, २०७३- गृहमन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखलाई काठमाडौं फिर्ता बोलाएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) उद्धवप्रसाद तिमल्सिना, नेपाल प्रहरीका एसपी दिवेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डीएसपी दानबहादुर कार्कीलाई मन्त्रालयमा बोलाउने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थीले जानकारी दिए । सीडीओ तिमल्सिना एक हप्ताअघिमात्र सप्तरी जिल्ला सरुवा भएका थिए ।

यसैबीच सप्तरीबाट बाहिरिएका सीडीओ‌ तिमल्सिनाको गाडीमा पनि मोर्चाका कार्यकर्ताले ढु‌ंगामुढा गरेका छन् । जिल्लाबाट गाडीमा पूर्वतिर लागेको सीडीओ काठमाडौै फर्किन लागेको हुन सक्ने हाम्रा संवाददाताले बताएका छन् ।

यसैबीच, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सप्तरी लगायतका क्षेत्रमा बल प्रयोग नगरी स्थिति सामान्य अवस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई मंगलबार बिहान प्रहरी मुख्यालय नक्सालमा बोलाएर सप्तरीमा सोमबार भएको मानवीय क्षतिको घटनाबारे जानकारी लिादै निधिले यस्तो निर्देशन दिएका हुन् । करिब डेढघण्टा लामो छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी, नेपाल प्रहरीको कार्यविभाग प्रमुखसहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थिति रहेको थियो । त्यसक्रममा सुरक्षा निकायका प्रमुखहरुले सोमबार र आज मंगलबार भएका घटनाबारे जानकारी गराएका गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।









Source : eKantipur

प्रकाशित: फाल्गुन २४, २०७३
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: