राजु चौधरी, काठमाडौं
फाल्गुन १३, २०७३- सरकारले तीन महिनाका लागि इन्धन भण्डारण गर्ने प्रक्रिया अघि बढाएपछि छिमेकी मुलुकले सहयोग गर्ने चासो देखाएका छन् । आपूर्ति मन्त्रालयका अनुसार प्राविधिकसँगै भण्डारण बनाउन सहयोग गर्न चासो देखाएका हुन् । ‘पूर्व प्रधानमन्त्री केपी ओली र चीन सरकारबीच भएको भेट वार्ताका क्रममा ललितपुर, धादिङ र तनहुँमा पूर्वाधार निर्माण गर्दा चीनले सहयोग गर्ने सम्झौता भएको थियो । सोही सम्झौताअनुसार चीन सरकारले पटक–पटक पत्रचार गरेको छ । भारतीय आयल निगम (आईओसी) ले पूर्वाधार निर्माणमा सहयोग गर्ने जनाएको छ,’ आपूर्ति सचिव प्रेमकुमार राईले भने, ‘उनीहरूले प्राविधिकसँगै भण्डारण बनाउन समावेश गर्न आग्रह गरेका छन् ।’ आईओसीले चाहिने प्राविधिक र लाग्ने लागतमा निजी साझेदारीमार्फत सहयोग गर्न पनि तयार रहेको जनाएको छ । 

चीन सरकारले चाँडोभन्दा चाँडो निर्माणका लागि जग्गा उपलब्ध गराउन दुईपटक पत्राचार गरिसकेको उनले बताए । ‘टेक्निकल डिजाइन र टेक्निकल अध्ययनका लागि छिट्टै आउने भनेर दुईपटक पत्रचार गरेको छ,’ उनले भने, ‘जवाफमा हामीले जग्गा प्राप्ति नगरेको अवस्था र प्राप्ति भएपछि बोलाउने बताएका छौं ।’ उनले धादिङ र तनहुँमा जग्गा प्राप्ति भएपछि प्राविधिक अध्ययनका लागि बोलाइने बताए । 

सरकारले बजेट वक्तव्यमार्फत नै आयल निगमको भण्डारण क्षमता विस्तार गर्ने घोषणा गरिसकेको छ । आपतकालीन अवस्थामा सहज रूपमा उपलब्ध गराउन व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले सरकारलाई इन्धन भण्डारण गर्न निर्देशन दिएको थियो । समितिले अभाव हुने समयको प्रक्षेपण गरी भण्डारण गर्नुपर्ने सुझाव दिएको थियो । सोही घोषणाअनुसार निगमले क्षमता विस्तारको प्रक्रिया सुरु गरिसकेको छ । निगमले तीन महिनालाई पुग्ने इन्धन भण्डारण क्षमता विस्तारका लागि प्रक्रिया अघि बढाइसकेको छ । निगमले झापा, सर्लाही, महोत्तरी, चितवन, रूपन्देही, धनगढी र धादिङमा जग्गाका लागि आहवान गरेको हो । भण्डारणका लागि न्यूनतम २० बिघा चाहिने जनाएको छ । सोहीअनुसार ग्लोबल टेन्डर जारी गरेर हो । आपूर्ति सचिव राईका अनुसार टेन्डर मूल्यांकनको क्रममा छ ।

‘प्रदेशका आधारमा भण्डारण बढाउन जग्गा खरिद गर्ने प्रक्रियाको सुरु गरेका छौं । झापाको चारआली, सर्लाहीमा टेन्डर मूल्यांकन क्रममा रहेको छ । चितवनमा पनि टेन्डर परेर मूल्यांकनको अन्तिम चरणमा छौं,’ उनले भने । तनहुँमा पनि २ सय रोपनीभन्दा बढी जग्गाको लागि टेन्डर अहवान गरिएको थियो । त्यहाँ पनि मूल्यांकनकै क्रममा रहेको मन्त्रालयले जनाएको छ । भैरहवामा पनि २० बिघा जग्गाको मूल्यांकन अन्तिम चरणमा पुगेको छ । धनगढीमा पनि अन्तिम चरणमा छ । ‘जग्गा प्राप्ति हुनेबित्तिकै कार्यालय, भवन, पर्खाल लगाउने कुरा उठेको छ । यसलाई चैतभित्र बढाउने योजना छ,’ उनले भने । 

दाङका लागि भने टेन्डर 
आह्वान भएको छैन । निगमले धादिङमा २ सय रोपनी वा सोभन्दा बढी जग्गाका लागि टेन्डर आह्वान गरेको थियो । धादिङका लागि कागजातबिना आएकाले अयोग्य ठहर गर्दै पुन: टेन्डर आह्वान गरेको जनाएको छ । राईका अनुसार काभ्रेको पाँचखालमा पनि भण्डारण बनाउने योजना थियो । तर, तातोपानी नाका तत्काल नखुल्ने हुँदा अन्योल छ । ‘बाटोका कारणले उपत्यकाबाटै इन्धन भण्डारण गर्नुपर्ने अवस्था हुन्छ । त्यसैले पाँचखालको सट्टा ललितपुरमा ल्याउने सोच बनाएका छौं,’ उनले भने । ललितपुर क्षेत्रमा द्रुतमार्ग वा रिङरोड साइडको जग्गा हेर्ने सोच बनाइएको छ । त्यसका लागि अध्ययन भइरहेको सचिव राईले बताए । 

भण्डारण निर्माण गर्दा रूपन्देही र चितवनमा निगम स्वयंले बनाउनेछ । कुनै एक ठाउँमा साल्ट ट्रेडिङलाई पनि दिइने जनाएको छ । आईओसी र चीनले पनि चासो देखाएकाले एक–एक स्थानमा पूर्वाधार निर्माण गर्न दिन सकिने उनले बताए । अन्य क्षेत्रमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट निजी क्षेत्रलाई दिने सकिने उनले बताए । ‘टेक्निकल अध्ययनसँगै भण्डारण बनाउन पनि दिन सकिन्छ,’ उनले भने, ‘तर, अन्तिम निर्णय सरकारले नै गर्नेछ ।’ निगमका अनुसार तीन महिनालाई पुग्ने इन्धन भण्डारण क्षमता विस्तार गर्न मौज्दात गर्न प्रारम्भिक चरणमा करिब १ खर्ब १७ अर्ब रुपैयाँ लाग्नेछ । निगमले तयार पारेको तथ्यांकअनुसार जग्गा, मौज्दात मूल्य, निर्माण लागत गरी उक्त रकम लाग्ने जनाएको हो । हाल मुलुकभरि ७८ हजार ५ सय ८५ किलोलिटर भण्डारण क्षमता छ । उक्त भण्डारणले करिब तीन सातालाई मात्रै पुग्छ । 

ट्यांकर व्यवसायीको आन्दोलन स्थगित
ट्यांकर क्षेत्र केन्द्रीय समन्वय समिति र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन स्थगित गर्ने सहमति गरेको छ । आयल निगम व्यवस्थापनसँग बिहीबार भएको वार्ताको क्रममा ती दुवै संस्थाले एक महिनाका लागि आन्दोलन स्थगित गर्न सहमति हो । निगमले हालै कार्यान्वयनमा ल्याएको ढुवानी विनियावली २०७३ ‘प्रतिकूल’ भएको भन्दै ती दुई संस्थाले आन्दोलन गर्दै आएका थिए । आन्दोलनका कारण एकदिन इन्धनको आपूर्ति नहुँदा करिब एक साता अभाव सिर्जना भएको थियो । 

निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले शिवरात्रिको बिदाको दिन पनि इन्धनको सहज रूपमा वितरण हुने बताए । 

‘शिवरात्रिको बिदा र शनिबार सार्वजनिक बिदा भएकाले इन्धनको अभाव हुन नदिन अमलेखगन्जबाट र शुक्रबार थानकोटबाट इन्धन वितरण गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने ।




Source : ekantipur

प्रकाशित: फाल्गुन १३, २०७३
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: