फाल्गुन १२, २०७३- एमालेले संविधान कार्यान्वयन र चुनावी तयारीलगायतका लागि फागुन २१ मा सुरु हुने ‘मेची–महाकाली अभियान’ मा अनिवार्य परिचालित हुन सांसदहरूलाई निर्देशन दिएको छ । एमाले संसदीय दलको बुधबारको बैठकमा अभियानको महत्त्वबारे उल्लेख गर्दै अध्यक्ष केपी ओलीले सांसदहरूलाई पनि परिचालित हुन निर्देशन दिएका हुन् । 

राजधानीमा संसदको काम प्रभावित नहुने गरी उनीहरूलाई सम्बन्धित क्षेत्रका जुलुस र सभामा परिचालित हुन भनिएको छ । ‘सबै सांसदलाई समय मिलाएर जनपरिचालन अभियानमा संलग्न हुन भनिएको छ,’ प्रमुख सचेतक भानुभक्त ढकालले भने । तराईका सबै जिल्लाका प्रमुख सहरमा जुलुस र सभा गर्ने एमालेको तयारी गरेको छ । ती सभामा पार्टीका केन्द्रीय नेताहरू सम्बोधन गर्न पुग्नेछन् । तराईमा जनमत बिग्रिइरहेको भन्ने भ्रम चिर्न एमालेले त्यही शक्ति प्रदर्शन गरेर देखाउन लागेको हो । 

बैठकमा अध्यक्ष ओलीले संविधान र एमालेविरुद्ध फिजाइएका भ्रमहरू चिर्न पार्टी परिचालित हुन लागेको बताए । त्यसका लागि सबै कार्यकर्ता र नेताहरू जुलुस र सभामा संलग्न हुनुपर्ने उनको भनाइ थियो । दुई साताको स्थगनपछि बस्न लागेको संसद् बैठकका सन्दर्भमा पनि संसदीय दलमा छलफल भएको थियो । विशेष गरी संविधान संशोधनसम्बन्धी प्रस्ताव छलफल गर्न दिने कि नदिने भन्ने टुंगो गर्नुपर्ने भएकाले संसदीय दल अन्य विपक्षी गठबन्धनका दलहरूसँगको परामर्शमा मात्र निष्कर्षमा पुग्ने भएको छ ।




Source : Ekantipur


प्रकाशित: फाल्गुन १२, २०७३
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: