फाल्गुन २३, २०७३- एमालेको मेची–महाकाली अभियान बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा तीन जना युवकको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र दुईको उपचारकोक्रममा मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डीआईजी रमेश भट्टराईले जानकारी दिए ।

टाउकोमा प्रहरीको गोली लागेका सप्तरी मलेठ– २ का अन्दाजी १८ वर्षीया सन्जन मेहताको घटनास्थलमै मृत्यु भएको हो । मलेठ ४ का आनन्द साह र राजविराज ९ का पिताम्बर मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।

राजविराजमा गर्ने भनिएको सभास्थल परिवर्तन गरेर औद्योगिक क्षेत्रमा गरिएको आमसभा बिथोल्न ठूलो संख्यामा मोर्चा कार्यकर्ता पुगेपछि प्रहरीले गोली चलाएको हो । मोर्चाले भने प्रहरीको हुलमा मिसिएका एमाले कार्यकर्ताले ढुंगामुढा गरेको आरोप लगाएको छ ।

सगरमाथा अञ्चल अस्पतालका अनुसार झडपमा दर्जनौं घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ११ जनालाई उपचारका लागि विराटनगर र धरान पठाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार गोली नलागेका तर टाउको फुटेका र हात भाँचिएका घाइते बढी छन् ।

औद्योगिक क्षेत्रमा एमालेको सभा नहुँदै पुगेका मोर्चा कार्यकर्ताहरु कार्यक्रमको अन्तिममा अध्यक्ष केपी शर्मा ओलीले भाषण गर्न थालेपछि थप उत्तेजित भएका थिए । त्यसअघि नेताहरु माधवकुमार नेपाल, लालबाबु यादव, सत्यनारायण मण्डललगायतले सम्बोधन गरेका थिए ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले कडा सुरक्षाबीच ओलीसहित शीर्ष नेताहरुले बाहिर सुरक्षित स्थलतर्फ पुर्‍याएको छ

कार्यक्रम अवधिभर डेढ घण्टासम्म औधोगिक क्षेत्र तनावग्रस्त भएको थियो ।




Source : eKantipur

प्रकाशित: फाल्गुन २३, २०७३
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: