लीला श्रेष्ठ, काठमाडौं
फाल्गुन १३, २०७३- पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्रिमा पशुपति दर्शन गर्न आउने भक्तजन मन्दिर परिसरमा प्रवेश गरेको आधा घन्टादेखि ४५ मिनेटसम्ममा दर्शन गर्न पाउने गरी व्यवस्था मिलाएको छ । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले गत वर्षको भन्दा छिटो दर्शन गर्न पाउने व्यवस्था गरेको र ४५ मिनेटसम्ममा दर्शनको व्यवस्था मिलाउने लक्ष्य लिइएको बताए । 

सर्वसाधारणलाई सुविधा होस् भनेर यसपटकदेखि कोषले विशेष पास र मूल समारोह समिति पनि हटाएको छ । यस्तै, भक्तजनको सहजताका लागि विशेष फर्माइसी पूजा र चार प्रहरको फर्माइसी पूजा पनि स्थगित गरिएको कोषले जनाएको छ ।

‘एक हजार रुपैयाँ तिरेर पाउने विशेष पासको व्यवस्था हटाएका छौं,’ कोषका सदस्यसचिव टण्डनले भने, ‘मूल समारोह समितिका सदस्यले आफन्त तथा चिनजानकालाई पास वितरण गर्ने र मान्छे लाने ल्याउने गर्दा दर्शनार्थीलाई असहज भएको महसुस भएर समिति नै कटौती गरिएको हो ।’ कोषले गत वर्ष विशेष पास वितरणबाट करिब ३५ लाख संकलन गरेको थियो । कोषले महाशिवरात्रि पर्व सञ्चालनका लागि यस वर्ष ४० लाख र गुठी संस्थानले करिब २४ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

महाशिवरात्रि पर्वका लागि आवश्यक रकम तथा पुजाआजाका लागि सम्पूर्ण तयारी पूरा भएको कोषले जनाएको छ । शिवरात्रि पर्वलाई सहज तथा सुरक्षित बनाउन ४ हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सिभिल सुरक्षाकर्मी खटाइएको छ । शिवरात्रिको अवसरमा शुक्रबार १३ लाख भक्तजनले पशुपति मन्दिर दर्शन तथा पूजाआजा गर्ने अपेक्षा गरेको समेत कोषले जनाएको छ । कोषका अनुसार शिवरात्रिका लागि ५ हजार साधुसन्त आइपुगेका छन । संस्थानको तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगृस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडा लगायतका क्षेत्रमा आवश्यक सामग्रीको व्यवस्था गरिसकेको गुठी संस्थान पशुपति शाखा प्रमुख खिमा वलीले बताइन् ।

मन्दिरमा सहभागी साधुसन्त, महात्मा, सन्यासीका लागि संस्थानले फाल्गुन कृष्ण एकादशीको दिन विभिन्न सामग्रीहरू (राडी, च्यादर, बख्खु, कमण्डलु, शंखघण्ट, पीताम्बरी, लोटा, सिदा) राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प गराएर ल्याएको र बिदाइको दिन वितरण गरिने जनाएको छ । शुक्रबार महाशिवरात्रिका दिन बिहान गुठी संस्थानले पशुपतिनाथमा पञ्चामृत स्नानसहित पूजा गरेको छ ।

महाशिवरात्रि अवधिभर साधुसन्त, महात्मा, सन्यासीहरूले धुनी बाल्न ३८ हजार किलो दाउरा गुठी संस्थानले व्यवस्था गरेको उनले बताइन् । संस्थानले पशुपति परिसरमा नागा साधु, आर्यघाट पारी राम मन्दिरमा वैष्णव साधु, गोरखनाथ मठ मृगस्थलीमा नाथजी, भष्मेश्वर र राजराजेश्वरी अखडामा उदासी साधुहरूका लागि व्यवस्था गरेको जनाएको छ ।

मित्रपार्क–उमाकुण्ड–दक्षिणमूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाको सिंढीबाट एक लाइन, गौशाला–वनकाली–चार शिवालय–पञ्चदेवल–बज्र घर हुँदै दक्षिण ढोका चौसट्ठी लिङ्गबाट अर्को लाइन र पूर्व ढोकाबाट अर्को लाइन मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।




Source : eKantipur

प्रकाशित: फाल्गुन १३, २०७३
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: