फाल्गुन १२, २०७३- स्थानीयले नालामा ह्युमपाइप राख्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको छ । ह्युमपाइप राख्ने ठाउँ दशगजामा पर्ने भन्दै निर्माणमा अवरोध पुर्‍याएको हो ।

जिल्लाको दक्षिणी पुनर्वास नगरपालिका–८ कार्गिल डाँडास्थित एउटा नालामा ह्युमपाइप राख्न खोज्दा विवाद भएको थियो । ‘एसएसबीले दशगजामै ह्युमपाइप राख्न लागेको भनेर अवरोध गर्‍यो,’ सुरक्षा निकाय टोलीसहित त्यहाँ पुगेर फर्केका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले भने, ‘२ सय नम्बर सीमास्तम्भ हराएकाले त्यहाँ विवाद देखिएको हो ।’

उनका अनुसार भारतीय पक्षले सय मिटर नेपालतर्फ सीमास्तम्भ रहेको दाबी गरिरहेका छ । तर, स्थानीयले अहिले ह्युमपाइप राख्ने काम भइरहेको स्थानभन्दा सय मिटर टाढा स्तम्भ रहेको बताएका छन् । ‘पहिलो दिनको छलफलमा सीमा एकिन नहुँदासम्म ह्युमपाइप राख्न नदिने भनेका थिए । तर, दोस्रो दिन भने काम गर्न दिने भएका छन्,’ कुँवरले भने, ‘यस विषयमा केन्द्रमा पनि कुरा भएको छ, छिट्टै सीमा पहिचान गर्न टोली आउन सक्छ ।’

सीमा विवाद आएपछि सोमबार र मंगलबार दुवै पक्षका सुरक्षा निकायका बीचमा सोही ठाउँमा छलफल भएको थियो । छलफलमा भारत उत्तरप्रदेश खिरिका सहायक जिल्लाधिकारी सादाव अस्लम, एसएसबी ४९ बटालियनका कमान्डेन्ट दिलवाग सिंह सहभागी थिए । नेपालबाट सहायक प्रजिअ कुँवरसँगै जिल्ला प्रहरी प्रमुख एसपी प्रकाशबहादुर चन्द, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय (सिसुका) का डीएसपी करनसिंह धामी र नापी कार्यालय प्रमुख मानबहादुर चन्द लगायत छलफलमा पुगेका थिए ।

मुलुकका विभिन्न ठाउँमा देखिएको सीमा विवाद टुंग्याउन दुवै देशको संयुक्त टोली पूर्वबाट विभिन्न जिल्लामा काम गर्दै आइरहेको छ । केन्द्रबाट तत्काल दुवैतर्फको टोली आउन पनि समय लाग्ने भएकाले भारतीय पक्ष पनि काम गर्न दिन सहमत भएको कुँवरले बताए ।







Source : Ekantipur

प्रकाशित: फाल्गुन १२, २०७३
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: