फाल्गुन १२, २०७३- आउँदो चैत पहिलो साता चौथो लघुवित्त सम्मेलन हुने भएको छ । ‘वित्तीय, सामाजिक र मानवीय मूल्यहरूबीच सन्तुलन’ को नारासहित सेन्टर फर माइक्रोफाइनान्स नेपाल (सीएमएफ) को आयोजना र राष्ट्र बैंक तथा सक्षम एक्सेस टु फाइनान्सको सहआयोजनामा चैत २ देखि ४ सम्म राजधानीमा सम्मेलन हुन लागेको हो । 

लघुवित्तले सामना गरेका प्रमुख समस्या, मुद्दा, चुनौती तथा कठिनाइमा नियामक र सेवा प्रदायकको बीचमा साझा बुझाइको विकास तथा समाधानका उपाय पत्ता लगाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको सीएमएफका प्रमुख कार्यकारी अधिकृत हरिहर आचार्यले बताए । सम्मेलनबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

लघुवित्तमा भएका अनुसन्धानलाई आधार बनाएर सरोकारवालाहरूबीच अन्तरक्रिया गर्ने, मानवीय मूल्यसहित सामाजिक र वित्तीय उद्देश्यहरूमा सन्तुलन मिलाउने, अन्तर्राष्ट्रिय क्षेत्रमा लघुवित्तले लिएको विकासको गति र नेपालको सन्दर्भमा ती विषयहरूको सान्दर्भिकतालगायत विविध विषयमा छलफल हुने जनाइएको छ । 

सम्मेलनमा नीति निर्माता, सेवाग्राही, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी निकाय, बैंकर र लघुवित्त बैंक/वित्तीय संस्था तथा वित्तीय मध्यस्थता गर्ने छन् । गैरसरकारी संस्था, वित्तीय सहकारी संस्था, साना किसान, कृषि सहकारी तथा विशेषज्ञहरूसहित करिब ८ सय जना सहभागी हुने आयोजकले बताएको छ । 
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन तथा अनुभवहरू प्रस्तुत गर्ने र सोबारे व्यापक छलफल गर्नका लागि ८ पूर्ण सत्र र २० विभाजित सत्रहरू सञ्चालन गरिनेछन् । सम्मेलनमा तेस्रो राष्ट्रिय लघुवित्त सम्मेलन ०६९ फागुनको घोषणा पत्रमा उल्लेखित प्रतिबद्धता कार्यान्वयनमा भएको प्रगतिबारे गरिएको अनुगमनको समीक्षा गरिनेछ । सम्मेलन अवधिमा प्राप्त भएका सुझावहरू र निष्कर्षहरूको आधारमा सम्मेलनको अन्तिम दिन काठमाडौं घोषणा पत्र जारी हुने आयोजकले बताएको छ ।





Source : Ekantipur


प्रकाशित: फाल्गुन १२, २०७३
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: