नेपाली परिवेशमा सर्वाधिक आकर्षक भ्यालेन्टाइन ड्रिम गर्ल वा ड्रिम ब्वाइ को होलान् ? यसको सर्वस्वीकार्य उत्तर खोज्न गाह्रो छ । यद्यपि साप्ताहिकले भ्यालेन्टाइन डेका अवसरमा नेपालका सर्वाधिक आकर्षक महिला तथा पुरुष खोज्ने जमर्को गर्ने गरेको छ । आठ वर्षअघिदेखि हरेक भ्यालेन्टाइन डेमा साप्ताहिकले छान्दै आएको आकर्षण महिला–पुरुषको खोजीलाई यस पटक पनि निरन्तरता दिइएको छ।


यसअघिका संस्करणमा प्राय: नियमितजसो सर्वाधिक आकर्षण महिला मात्र होइन, कुनै समय आकर्षण महिलाको पहिलो नम्बरमा रहेकी ‘सदाबहार सुन्दरी’ करिश्मा मानन्धर यसपटक छनौटकर्ताहरूको मन जित्न सकिनन् । डेब्यु निर्देशनमै सुपरहिट फिल्म दिएपछि दीपाश्री धेरैको रोजाइमा पर्न सफल भएकी हुन् । रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी गौरिका सिंहको पौडी कौशललाई पनि धेरैले मन पराए । अभिनेत्री केकी अधिकारीको परिपक्वता एवं आकर्षक अनुहार तथा नवअभिनेत्री साम्राज्ञीको सुन्दरता एवं अभिनयले पनि धेरैको मन जितेका कारण उनीहरू टप टेनमा पर्न सफल रहे ।

यस्तै, विगतका संस्करणमा आफ्नो बोल्ड शारिरीक बनावट तथा बौद्धिकताले जबरजस्त प्रभाव पार्न सफल माल्भिका सुब्बालाई पनि टप टेनको सूचीमा कायम राख्न पर्याप्त भोट परेन । विगतका केही संस्करणमा सर्वाधिक आकर्षक महिलाको सूचीको टप टेनमा पर्न सफल मोडल साहना ब्रजाचार्य, अभिनेत्री रिमा विश्वकर्मा एवं सञ्चिता लुइँटेल, गायिका कोमल वली, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली मोडल आस्था पोखरेलले उत्साहप्रद मत प्राप्त गर्न सकेनन् । सेक्सी जीउडाल एवं बौद्धिकताका लागि रुचाइएकी अभिनेत्री तथा मोडल झरना ब्रजाचार्यलाई यसपटक पनि केही सहभागीले सर्वाधिक आकर्षक महिला बनाउनुपर्ने पक्षमा मत व्यक्त गरेका थिए ।

पुरुषतर्फ गएको संस्करणको तुलनामा यस पटक धेरै उथलपुथल आएको छ । अघिल्लो संस्करणका ६ जना पुरुष यसपटक पनि सर्वाधिक आकर्षण पुरुषको टप टेनमा अटाउन सफल रहे । ४ जना नयाँ अनुहारले यसपटक आकर्षण पुरुषको टप टेनमा डेब्यु गरे । रोचक त के भने यस पटक आकर्षक पुरुषका लागि सर्वाधिक मत प्राप्त गर्नेमा सरकारी अधिकारी छन् । नेपाल विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङ सर्वेक्षणका क्रममा धेरैको रोजाइमा पर्न सफल भए । झन्डै १७ घण्टा लोडसेडिङ भोगिरहेको काठमाडौंलाई चौबीसै घण्टा भिलिमिली पार्न देखाएको कुशल व्यवस्थापन क्षमताकै कारण घिसिङ पहिलो रोजाइमा परेका हुन् ।

गत वर्ष सर्वाधिक आकर्षक पुरुषको टप टेनको सूचीमा तेस्रो स्थानमा रहेका दयाहाङ राई यस पटक दोस्रो स्थानमा उक्लिएका छन् । उनको अभिनय एवं स्वभावले धेरै मतदाताको मन जितेको छ भन्न सकिन्छ । गएको वर्ष थोरै मतले यो सूचीबाट बाहिरिएका युवा नेता गगन थापा यस पटक पुन: आफ्नो प्रभाव फर्काउन सफल भएका छन् । वाकपटुता एवं आकर्षक भाषणशैलीका कारण सबैको रोजाइमा पर्दै आएका थापाले स्वास्थ्यमन्त्रीका रूपमा प्रारम्भ गरेका सकारात्मक प्रयासहरूका कारण आफ्नो गुमेको बर्चश्व फर्काउन सफल भएको विश्वास गरिन्छ ।

सर्वाधिक आकर्षक पुरुषको ०६९, ०७० तथा ०७१ को संस्करणमा लगातार नम्बर वान भएर ह्याट्रिक गरेका पारस खड्का गएको संस्करणमा भने चौथो वरियतामा पुगेका थिए । खड्का यस पटक पनि चौथो वरियतामै यथावत् छन् । कलाकार दीपकराज गिरी यस पटक आकर्षक पुरुषको टप टेनको सूचीमा पर्न सफल भएका छन् । पछिल्ला चार वर्षमा उनी टप टेनको सूचीमा अटाउन सकेका थिएनन् । यस पटक उनले निर्माण गरेको ‘छक्का पन्जा’ सुपरहिट भएपछि उनको कामलाई धेरैले खुला दिलले मत दिए । गत वर्ष सर्वाधिक आकर्षण पुरुषको टप टेनको सूचीमा पाँचौं स्थानमा रहन सफल अभिनेता सौगात मल्ल यस पटक छैटौं स्थानमा पुगे ।

गत वर्ष टप टेन आकर्षक पुरुषको सूचीको दोस्रो स्थानमा रहेका युवा फुटबलर विमल घर्तीमगर ५ स्थान झर्दै ७ औं स्थानमा पुगे । यद्यपि विमलको आकर्षक लुक्स एवं उनको स्ट्राइकिङ क्षमताको सबैले प्रशंसा गरे । अघिल्लो संस्करणका नम्बर वान सर्वाधिक आकर्षक पुरुष अनमोल केसीको चकलेटी लुक्स र स्टारडमको पर्याप्त प्रशंसा हुन्छ । यद्यपि यसपटक सर्वेक्षणमा सहभागीहरूको दृष्टिमा उनी गएको वर्षभन्दा धेरै पछाडि परे । उनी यसपटक ८ औं नम्बरमा छन् ।

कुमार घैंटे इन्काउन्टरदेखि नेपाली फुटबलको म्याच फिक्सिङको अन्तर्राष्ट्रिय जालोलाई तोड्नेसम्मको कामको श्रेय पाएपछि एसएसपी सर्वेन्द्र खनाल सर्वाधिक आकर्षण पुरुष टप टेन सूचीमा भित्रिएका छन् । अपराध महाशाखामा रहेर निर्भीक प्रहरी अधिकृतका रूपमा उनले धेरैको मन जिते । यस्तै, गएको संस्करणको सर्वाधिक आकर्षण पुरुषको सूचीमा नवौं स्थानमा रहेका आयुष्मान देशराज जोशी यसपटक पनि टप टेनमा अटाउन सफल भए । भलै उनी वरियतामा एक स्थान तल झरेका छन् । यद्यपि यी इमर्जिङ स्टारको ह्यान्डसमनेशलाई धेरैले नोटिस गरेको देखियो ।

 यति हुँदाहुँदै पनि गत वर्ष आकर्षक पुरुषको टप टेनको सूचीमा क्रमश: छैटौं, सातौं, आठौं र दसौं स्थानमा रहेका अभिनेता आर्यन सिग्देल, फेसन डिजाइनर प्रबल गुरुङ, अभिनेता अनुपविक्रम शाही तथा महाअभिनेता राजेश हमाल भने यस पटक टप टेनको सूचीबाट बाहिरिए । कडा प्रतिस्पर्धामा चकलेटी अभिनेता सिग्देल झिनो मतले टप टेनको सूचीमा अटन सकेनन् भने गुरुङ, शाही र हमाललाई टप टेन आकर्षण पुरुषका रूपमा उल्लेख्य मत प्राप्त भएन । यसअघिका केही संस्करणका सर्वाधिक आकर्षक पुरुषको टप टेनको सूचीमा अटाएका व्यवसायी सौरभज्योति, दिकेश मल्होत्रा तथा मोडल प्रशान्त ताम्राकारलाई पनि केहीले सर्वाधिक आकर्षक पुरुष बनाउनुपर्नेमा मत जाहेर गरेका थिए।
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: